काठमाडौं,१ असार । नेकपा एमाले र निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णयमा आपत्ति जनाएको छ ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टीसँगको छलफलपछि सत्तापक्षले प्रदेश २ को चुनाव असोज २ मा गर्न निर्वाचन आयोगलाई सरकारले सिफारिस गर्ने निर्णय गरेको थियो ।
सत्तापक्षको निर्णयप्रति आपत्ति जनाउदै एमाले सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो निर्णयबाट मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको दाबी गरेका छन् ।
एमालेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै ठोस कारण र औचित्यबिना निर्वाचन सारेर सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ । प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ । साथै आयोगले पनी उक्त निर्णय असहमति जनाएको छ ।