गुल्मी,३१ जेठ । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले मुलुको परिर्वतनको निम्ती एमालेको बहुमत आवश्यक रहेको बताएका छन् । उनले एमालेको जनलहर प्रति अन्य राजनीतिक दलहरुले समेत चौतर्फी घेराबन्दी गरेर चुनावी तालमेल गरेपनि तालमेलले कुनै असर नपर्ने बताएका छन् ।
मंगलवार गुल्मीको इस्मा गाउँपालिकाको वडा नं. २ आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेता बिष्टले मुलुकको परिर्वतनका लागि एमालेको बहुमत आवश्यक रहेको बताएका छन । एमालेलाई हराउन जो सुकैले तालमेल गरेर अगाडि बढेपनि एमालेसगँ नेपाली जनताको साथ भएकाले तालमेलका पछाडि नलागि चुनावी मैदानमा लाग्न नेता कार्यकत्र्ताहरुलाई आग्रह समेत गरे ।
अहिलेको स्थानीय तहको निर्वाचन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत अन्य राजनीतिक पाटीहरुकाबीच भन्दा पनि राष्ट्रियता जोगाउने र समाप्त पार्नेबीच भएको भन्दै विष्टले राष्ट्रियता जोगाउनका लागि पनि एमालेको बहुमत आवश्यक रहेको बताए । ‘जब मुलुकमा सकंट पैदा हुन्छ त्यतिबेला एमालेको आवश्यक रहन्छ’, नेता विष्टले भने– ‘त्यस कारण जनताको आम परिवर्तनका लागि सूर्यमा मतदान गरेर सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी बनाउनुस ।
जिल्लामा एमालेले सबै निकाय जित्ने शंकाले कांग्रेस र माओवादी केन्द्र जस्तोसुकै मुल्य चुकाउन तयार भन्दै उनले सकेसम्म पैसा र प्रलोभन देखाएर जित्ने नभए बुथ कब्जा गर्ने र मतपत्र च्यात्ने योजनामा सत्तापक्ष भएकाले चनाखो बन्नुपर्नेमा जोड दिए ।