काठमाडौं,३१ जेठ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को गभर्निङ बोर्डमा पहिलोपटक नेपाल निर्वाचित भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्यता लिएको ५० वर्षपछि पहिलोपटक नेपाल बोर्डमा निर्वाचित भएको हो ।
श्रमिकहरुको हक, अधिकार र श्रम व्यवस्थापनमा विश्वव्यापी रुपमा काम गर्दै आएको यो संगठनमा श्रमिकहरुको तर्फबाट एमाले नेतृ विन्दा पाण्डे विजयी भएकी छन् । डेपुटी मेम्बरमा निर्वाचित भएको नेपालले अबका ३ वर्ष दक्षिण एसियाको तर्फबाट प्रतिनिधित्व गर्दै त्यसमा काम गर्नेछ । पाल रोजगार दिने भन्दा पनि रोजगारीको लागि मानव स्रोत पठाउने मुलुकको रुपमा चिनिएको छ ।
नेपालले आफू गभर्निङ बोर्डको नेतृत्वमा जाने वित्तिकै सन २०२५ सम्म कुनै पनि प्रकारको बालश्रमको अन्त्य गर्ने बृहत योजनमा सहमति जनाएको छ । नेपालले जलवायु परिवर्तन, हरियाली लगायतको धेरै क्षेत्रमाकाम गर्नेछ । आइएलओको १०६ औं सेसनको सम्मेलनमा नेपाल यसमा चुनिएको हो । यसको लागि जेनेभाका लागिनेपाली स्थायी प्रतिनिधी दीपक धिताल र न्युयोर्कका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले लामो लविङ गर्दै आएका थिए । उनीहरुले नेपाललाई यो तहमा पुर्याउन आवश्यक छ भन्दै सरकारको अनुमति मागेका हुन् ।
यसको लागि श्रम मन्त्रालयका अधिकारीहरु पनि जेनेभा पुगेका छन् । यता, नेपालका राष्ट्रपति विद्या भण्डारी पनि सोही सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरिसकेकी छन् । राष्ट्रपति भण्डारीले असार १ गते सो सम्मेलनलाई सम्बोधन गर्दैछिन् ।