शुक्रबार, बैशाख ०७, २०८१

एमालेको प्रतिष्ठा राख्ने गरि काम गर्न जनप्रतिनिधिलाई निर्देशन

काठमाडौं,३० जेठ । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले अब आउने प्रदेश र केन्द्रीय संसदको चुनावमा एमालेले जित्ने गरि जनताको काम गर्न निर्देशन दिनुभयो ।

सोमवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा  प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर,उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण क्रममा नेताहरुले यस्तो निर्देशन दिनुभएको हो ।
एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले संरक्षण नगर्ने नेपालले बताए । ‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ,नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन’ । पूर्व प्रधानमन्त्री खनालले आफ्नो र पार्टीको हित हुने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आह्वान पनि गर्नुभयो ।

सो अवसरमा एमाले महासचिव इश्वर पोखरेलले भन्नुभयो – एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र गाउँ तथा नगर कमिटीका धेरै पदाधिकारीहरु स्थानीय तहको प्रमुख उपप्रमुखमा निर्वाचित भएका छन् । अब उनीहरुलाई जनप्रतिनिधिको भूमिकामै बढि केन्द्रित गर्न पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने गरी छलफल भइरहेको छ ।
कार्यक्रममा तीन नम्वर प्रदेशका एमाले वाट विजयी भएका नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहेको एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले जानकारी दिनुभयो ।