शनिबार, असोज १३, २०८०

नेपाली कांग्रेस इलाममा नेताको सामूहिक राजीनामा

इलाम,२८ जेठ । नेपाली कांग्रेस, इलाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले आन्तरिक गुटबन्दीका कारण जिल्लाबाट सिफारिस नगरिएको व्यक्तिलाई टिकट दिइएको भन्दै  राजीनामा दिएका छन् ।

राजीनामा दिने अन्यमा उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पूर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जुन पोखरेल, हिराबहादुर लाप्चा, हरी बुढाथोकी, राजु बम्जन र पुष्प कार्की छन् ।

यसअघि क्षेत्रीय सभापति बराललाई सूर्योदय नगरपालिकाको मेयरको उम्मेदवार बनाउन केन्द्रलाई सफारिस गरिएको थियो ।

तर, केन्द्रले जातीय सन्तुलन मिलाउन भन्दै महासमिति सदस्य प्रेम चाम्लिङलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरेपछि आफूहरुले राजीनामा दिएको सभापति बरालले बताए ।

‘केन्द्रले गत फागुन ११ गते पठाएको परिपत्र अनुसार समन्वय समिति गठन गरेर उम्मेदवार सिफारिस गरिएको थियो’, उनले भने, ‘अधिकांश वडाबाट सिफारिस हुँदै मलाई मेयरका लागि अघि सारिएको थियो । भोट माग्न पनि थालिसकेको थिएँ । तर, अहिले टिकट अर्कैलाई दिइएकोले राजिनामा दिएको जानकारी दिएको छ ।