शुक्रबार, फागुन ११, २०८०

एनआरएनएले भूकम्प पीडितको लागि सरकारको कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहतका लागि तत्काल १० लाख रुपैयाँ सरकारको कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (कार्तिक १७ २०८० तदनुसार ३ नोभेम्बर २०२३) गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं । विज्ञप्तिमा भनिएको छ।

एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह पनि गरेको छ ।