बिहिबार, मङि्सर २०, २०८१

नवनियुक्त उप्रधानमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौँ,२५ जेठ । नवनियुक्त उप्रधानमन्त्री तथा मन्त्रीहरूले बुधबार आ–आफ्नो विभागीय मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । यस क्रममा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पदभार ग्रहण गर्नुभयो ।
पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयमा पदभार ग्रहण गर्नुभएका गच्छदारले बुधबार शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको हो ।
पाँचौँ पटक उपप्रधानमन्त्री र १४औँ पटक मन्त्री बन्नुभएका गच्छदारले बुधबार पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचनपछि पूर्ण रूपमा संविधान कार्यान्वयन हुने बताउनुभयो ।
यसैगरी, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले बुधबार पदभार ग्रहण गर्नुभएको छ । त्यस क्रममा मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले राष्ट्रिय स्वाधीनतालाई प्राथमिकतामा राखेर छिमेक तथा अन्य विदेशी राष्ट्रहरूसँग मित्रवत् व्यवहार गर्ने विषय आफ्नो प्राथमिकता हुने बताउनुभयो ।
“हामीले हाम्रो मन्त्रालयबाट मात्र हैन, अरू मन्त्रालयबाट भएका कामहरूले हाम्रो राष्ट्रियतामा आँच पुगेको छ कि छैन भनेर पनि चनाखो भएर हेर्नुपर्छ,” मिडियाकर्मीसमेत उपस्थित ब्रिफिङ कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्रीले भन्नुभयो, “तपाईंहरूले आफूलाई होइन, देशलाई केन्द्रमा राखेर काम गर्नुहोस् । त्यही कामले तपाईंहरूको मूल्याङ्नक हुनेछ । ”
यस्तै, उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि पदभार ग्रहण गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले बहालीपछि सुरक्षित विद्यालय नीति, २०७४ को मस्यौदालाई अन्तिम रूप दिन सहसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्तावलाई स्वीकृत गर्नुभएको छ । विनाशकारी भूकम्प र अन्य प्रकोपका कारण प्रभाावित विद्यालयलाई सुरक्षित बनाउने विषय सो नीतिमा समावेश छ ।
यसैगरी, गृहमन्त्री जनार्दन शर्माले आसन्न दोस्रो चरणको स्थानीय निर्वाचन निर्धारित मितिमा नै शान्त, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री शर्माले पहिलो चरणको निर्वाचन अपेक्षाकृत रूपमा सम्पन्न भइसकेको अवस्थामा दोस्रो चरणको निर्वाचनप्रति शङ्का गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो ।
गृह प्रशासनलाई चुस्तदुरूस्त र प्रभावकारी बनाउन सिपाही (जवान) देखि तल्लो तहका कर्मचारीहरूबाट प्राप्त हुने सुझाव आफ्ना लागि महìवपूर्ण हुने धारणा राख्दै मन्त्री शर्माले सस्तो लोकप्रियताका लागि गरिने प्रचारबाजी, वक्तव्यबाजी र राजनीतिक भाषण दिने कार्यमा रोक लगाइने बताउनुभयो ।
गृह प्रशासनबाट जनताले चाहेजस्तो सेवा सुविधा उपलब्ध गराउने विषयमा सबैको सुझाव सल्लाह अमूल्य हुने बताउँदै उहाँले भन्नुभयो, सुरक्षाकर्मीको ‘चेन अफ कमान्ड’ सुदृढीकरण र अनुशासनलाई प्रभावकारी बनाउन आवश्यक छ । देश र जनताको सेवा तथा शान्ति सुरक्षा, राष्ट्रियता र राष्ट्रिय अखण्डताका विषयमा राजनीतिक विचारसँग सम्झौता नगरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।