काठमाडौं,२२ जेठ । व्यवस्थापिका संसदको चौथो ठूलो शक्ति राप्रपासँगै संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् । तर, राष्ट्रिय जनता पार्टी नेपाल भने अझै अनिर्णित छ ।
प्रमुख विपक्षी नेकपा एमालेले संसद अवरोध कायमै राख्ने अडान लिएपछि आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचनलाई भने मंगलबारका लागि सारिएको छ ।
तर, प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस सभापति देउवाको पक्षमा समर्थन भने थपिएको छ ।
पार्टीभित्र चर्को विवादका बीच कमल थापा नेतृत्वको राप्रपाले समर्थनको निर्णय गरेको छ ।
राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा थिए । तर, बहुमत नेताहरु सरकारमा जाने पक्षमा उभिए । पार्टी संसदीय दलको बैठकमा थापाले बहुमत अल्पमत हेरेर सरकारमा जाने निर्णय भएको सुनाएका छन् ।
कांग्रेस सभापति देउवाले लिखित पत्र पठाएर राप्रपालाई सरकारमा आउन आग्रह गरेका थिए । स्रोतका अनुसार देउवाले चार मन्त्रालय दिने आश्वासन दिएका छन् ।
राप्रपाले समर्थन गर्ने निर्णयसँगै सरकारमा जाने मन्त्री छनोटका लागि कार्यदल बनाएको छ ।
यस्तै १५ सांसद रहेको संघीय समाजवादी फोरम नेपालले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता अशोक राईको अध्यक्षमा आइतबार बसेको बैठकले देउवाको मतदान गर्ने निर्णय गरेको छ ।