आइतबार, फागुन १३, २०८०

कोन्ज्योसोममा चोैथो राष्ट्रव्यापी पाथिभरा सो-क्योकुशिन कराते प्रतियोगिता हुने

ललितपुर । दक्षिण ललतिपुरको कोन्ज्योसोममा चोैथो राष्ट्रव्यापी पाथिभरा सो क्योकुशिन कराते प्रतियोगिता २०८० हुने भएको छ । पाथिभरा सोक्योकुशिन कराते डोजोको आयोजनामा हुने कराते प्रतियोगितामा देशका विभिन्न जिल्ला तथा डोजोहरुबाट करिब तीन सय खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता आगामी असोज २६ र २७ गते कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित नल्लु फुटबल ग्राउण्डमा हुने मुख्य प्रशिक्षक विजय घ्लानले जानकारी दिए । उनका अनुसार बिहान १० बजे देखि साँझ ५ बजेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पूर्व सभामुख ओनसरी घर्ति मगरले गर्नेछिन् भने समापन बागमती प्रदेशसभाकी सांसद उर्मिला तामाङले गर्नेछिन् । कार्यक्रममा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्धेश्यले विभिन्न नाचगान तथा डेमोहरुको समेत प्रदर्शन गरिनेछ ।

प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीहरुलाई नगद पुरस्कार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गर्ने आयोजकले जनाएको छ । यस्तै, कार्यक्रममा सहयोगी दाता, संघ संस्था, व्यक्तिहरुलाई खादा माला लगाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने प्रशिक्षक घ्लानले जानकारी दिए । साथै, उक्त प्रतियोगितालाई सभ्य भव्य रुपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार गरी सहयोग गर्ने मिडिया पाट्नरहरुलाई समेत सम्मान गर्ने उनी बताउँछन् ।