चितवन,१८ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मत च्यातिएको पाइएको छ ।
प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, निर्वाचनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधीहरुले जेठ १४ गते मध्यराति च्यातिएका मतपत्रहरुको संख्या एकिन गरेको हो ।
माओवादी कार्यकर्ताले मतगणनाका क्रममा मतपत्र च्यातेपछि त्यसलाई शिलबन्दी गरी राखिएको थियो ।
निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको उपस्थितिमा बिहीबार शिलबन्दी खोलिएको थियो । भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘आयोगको निर्देशन अनुसार मतगणनाका क्रममा क्षति भएको मतपत्र एकिन गर्दा ९० रहेको देखियो । अब यहि रिपोर्ट आजै निर्वाचन आयोगसमक्ष पठाउँछु ।’
मतपत्र गन्न मिल्ने र नमिल्ने भन्दा पनि नोक्सान भएका मतपत्र कति छन् भनेर आयोगले सोधेको हुनाले सोही अनुसारको रिपोर्टिङ केन्द्रमा गरिने न्यौपानेले बताए ।
जेठ १४ गते मध्यराति महानगरपालिकाको वडा नम्वर १९ मतगणना जारी रहेको बेला १ हजार ८०९ मत गनिसकेपछि २ हजार ४०० मत गणना गर्ने क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । वडा नम्बर १९ मा २८९७ मत खसेको थियो । त्यसमध्ये १ हजार ८०९ मत गणना भइसकेको थियो । ९० मत च्यातिएको पाइएकोले अब गणना हुन बाँकी ९ सय ९८ मत छ । यस्तै वडा नम्बर २० को ३ हजार ३०२ मत गणना गर्न बाँकी छ ।
च्यात्ने दुई जना माओवादी कार्यकर्ता खादा लगाएर सम्मान
भरतपुर महानगरपालिकामा मत गणनाका क्रममा मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा भएका छन् । जनही एकरएक लाख रुपैयाँ धरौटी तिरेर उनीहरु रिहा भएका हुन् ।
माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी रिहा भएका हुन् । उनीहरु धरौटी पश्चात रिहा भए । उनीहरुले भरतपुरमा ९० मत च्यातेको फेला परेको थियो । विहीवार निर्वाचन आयोग, सुरक्षा अधिकारी र दलका प्रतिनिधिले च्यातिएका मतपत्रको यकिन गरेका हुन् । १४ गते मतगणना चलिरहेकै बेलामा विवाद हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए ।आज च्यातिएका मत पत्रको बारेमा यकिन हुँदै गर्दा पक्राउ परेका न्यौपाने र सिवाकोटी खादा लगाएर बाहिरिएका छन् ।
उनीहरुलाई माओवादी कार्यकर्ताले खादा लगाएर सम्मान गरेका हुन् ।