काठमाडौं,१७ जेठ । अब नेपालको संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित १९ मन्त्री हुने भएको छ । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधबार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्री कार्यालय र १८ मन्त्रालय प्रस्ताव गरेको छ ।
संविधानले नै केन्द्र सरकारमा राज्यमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने व्यवस्था गरेको छ ।
त्यस अनुसार मन्त्रालयका संख्या घटाउन सरकारले गत वैशाख २१ गते सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए ।
समितिले पेश गरेको प्रस्तावमा उल्लेखित कतिपय मन्त्रालयको नाम र संरचनामा हेरफेर गर्नुपर्ने अवस्था रहेको राज्य व्यवस्था समिति सदस्य यज्ञराज सुनुवारले बताए । यसबारे आगामी शुक्रबारको बैठकमा छलफल हुनेछ ।
यो प्रस्ताव कार्यन्वयन सहजीकरण समिति समेत बनिसकेको छ । समितिमा काशिराज दाहाल संयोजक छन् भने कुमार योन्जन तामाङ, मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, बिजयकुमार मल्लिक सदस्य छन् । समितिको सदस्य सचिवमा निता पोखरेल अर्याल रहेकी छन् ।