टोकियो । चलचित्रको रुपमा हेरिएको ‘पशुपति प्रसाद २, भष्मे डन’ र ‘नांगो गाउँ’ दुवै जापानमा प्रदर्शन हुने भएको छ । यसै मध्येको एक ‘नांगो गाउँ’ भने राजधानी टोकियोमा सेप्टेम्बर १७ तारिख आइतबार मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने भएको छ ।
टोकियोमा चलचित्र प्रदर्शनको मिति घोषणा र पोष्टर सार्वजनिक गरेसँगै टिकट खरिद गर्नेहरुको फोनले आफुहरु उत्साहित बनेको टोकियोका लागि चलचित्र नांगो गाउँ प्रदर्शनको अधिकार पाउनुभएका विकास गोतामेले जानकारी दिनुभयो । नेपालको ग्रामिण परिभेषको कथावस्तुलाई सजिव ढंगले चलचित्रमा उतारिएको भन्दै ट्रेलरले नेपालमा राम्रो प्रतिक्रिया पाईरहँदा टोकियोमा प्रदर्शन हुनेभएपछि टोकियोवासीहरु पनि चलचित्र हेर्न उत्साहित देखिएका छन् ।
चलचित्रको टिकट क्युआर कोड मार्फत पैसा भुक्तान गरेर लिन सकिनुका साथै टिकट बुकिगं गराएर मेगुरो कुमिन सेन्टरको हलबाट पनि सोहि दिन लिन सकिने जानकारी गोतामेले दिनुभयो ।
नेपालमा भदौ २९ तारिखबाट प्रदर्शन हुँदै गरेको दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी शाह लगायत लोकप्रिय कलाकारहरुको अभिनय रहेको नांगो गाउँ जापान सहित अष्ट्रेलिया, बेलायत, अमेरिका, पोर्चुगल, क्यानडा, स्पेन, कोरिया लगायत दुई दर्जन बढि बिदेशमा प्रदर्शन गरिने भएको छ ।
नेपालमा चुनाव जित्नका लागि हुने राजनीतिक दाउपेच अनि समाजसेवा गर्ने असल मनसायले राजनीतिमा छिरेका व्यक्तिहरुबिचको चुनावी संघर्षलाई चलचित्रले समेटेको बताइएको छ । शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबीचको लडाइँलाई नांगो गाउँ चलचित्रको ट्रेलरमा पनि समेटिएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा दयाहाङ, मिरुना र शिशिरसँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, सविन बाँस्तोला, शंकर आचार्य, निमा पाण्डे, केशव राई, इष्टु कार्कीलगायतका लोकप्रिय कलाकारको अभिनय रहेको छ ।
क्लक वर्क क्रियसनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता जय श्रेष्ठ हुन् । आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन् ।
जापानको लागि चलचित्र नांगो गाउँको विक्रिवितरण अधिकार भने सुभास लामिछानेले पाएका छन् ।