शुक्रबार, बैशाख ०७, २०८१

सरकारको निर्णय : कहाँ कति बढ्यो स्थानीय तह ?

काठमाडौँ,९ जेठ । मधेशका दल राजपाको माग अनुसार सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । ‘कार्यदलको रिपोर्टका आधारमा यो निर्णय भएको हो’ सञ्चारमन्त्री राम कार्कीले भने ।

कार्यदलले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमतिमा नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेको थियो । बिराटनगर र वीरगञ्ज महानगरमा स्तरोन्नती गरिएको छ । २३ स्थानीय तह थप गरिएको छ ।  यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । साथै देशभर स्थानीय तहको संख्या ७६६ भएको छ । सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा ३-३ थप भएको छ । सुनसरी, पर्सा र रौतहटमा २-२ स्थानीय तह थप भएको छ । तर, पर्साको एउटा स्थानीय तह वीरगञ्जमा गाभिएकाले त्यहाँ बढ्ने एक मात्र हो ।

यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १-१ स्थानीय तह थप भएको छ । सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

महोत्तरीका ३ तथा झापा, बाँके र रुपन्देहीका २-२ गाउँपालिका नगरपालिका भएका छन् । यस्तै कैलाली, सिरहा, धनुषा र बारा एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरिएको छ ।