शुक्रबार, चैत १६, २०८०

उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण

टोकियो,९ जेठ ।  उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । देशको पश्चिमी क्षेत्र पुकचाङबाट आइतबार अपराह्न उक्त मिसाइल परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार यो मिसाइल जापानी समुद्रतर्फ ५ सय ६० किलोमिटर उडेको थियो । जापानी सञ्चारमाध्यमले मिसाइल जापानी सामुद्रिक इलाकाबाहिर खसेको जनाएका छन् । जापानले परीक्षणको विरोध गरेको छ ।

हवाइटहाउसका अनुसार मध्यमदूरीको यो मिसाइल पछिल्ला तीनवटा भन्दा कम दूरीमा मार हान्ने खालको हो ।

ठूलो आणविक हतियार बोक्न सक्ने नयाँ खालको रकेट परीक्षण गरेको एक सातामै उत्तर कोरियाले यो मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान, दक्षिण कोरियालगायत विश्व समुदायको आलोचनाका बीच उत्तर कोरियाले मिसाइल परीक्षणलाई जारी राखेको हो ।

राष्ट्रसंघले गत सोमबारमात्र थप परीक्षण नगर्न प्योङयाङलाई आग्रह गरेको थियो । परमाणु हतियाररहित हुने इमानदार प्रतिबद्धतामा ठोस कदम चाल्न पनि राष्ट्रसंघले आग्रह गरेको हो ।