बुधबार, असोज ०२, २०८१

टोकियोको तोयोसु पिटमा आज ६ बजेबाट नेपथ्य लाइभ कन्सर्ट

जापान । नेपथ्य व्याण्डको ‘लाईभ कन्सर्ट’ टोकियोमा आज हुँदैछ । राजधानी टोकियोको तोयोसु पिट हलमा आज (मंगलबार) साँझ ६ बजे नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुन लागेको हो ।

टोकियोमा नेपथ्य व्याण्डको कन्सर्ट आयोजना गरेको भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेका अनुसार कन्सर्ट आयोजनाको सम्पूर्ण तयारी सकिएको छ ।
सोमबार नै कन्सर्टको लागि साउण्ड चेकिङ, लाइटिङ, स्टेज सेटअप, हलमा प्रवेश सहित टिकट चेकिङ व्यवस्था सबै सम्पन्न भएको छ ।
कन्सर्ट आयोजनाका लागि नेपथ्य व्याण्डका प्रमुख भोकलिष्ट अमृत गुरुङ सहितको टिमलाई शनिवार आयोजकले नारिता विमानस्थलमा भव्य स्वागत गरेको थियो ।
नेपथ्य व्याण्डका अमृत गुरुङ सहित कि बोर्डमा सुरज कुमार थापा, बास गितारमा सुविन शाक्य, ड्रममा ध्रुव लामा, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ती बहादुर रायमाझीले साथ दिनेछन् ।

सन् १९९० मा गठन भएर १९९१ देखि सक्रिय रुपमा नेपाली मौलिक गीत संगीत सृजनामा क्रियाशिल नेपथ्य व्याण्डको सन् १९९३ मा सार्वजनिक छेक्यो छेक्यो, एउटा चिट्ठि, १९९५ मा बजारमा आएको जोमसोम बजारमा, चरि मर्यो सिसैको गोलीले देखि २००१ मा आएको रेशम, यो जिन्दगानी सदावहार गीतका रुपमा रहेका छन् ।

भेडिको उन जस्तो, सा कर्णाली, तालको पानी, रातो र चन्द्र सुर्य, कसैले सोधे, मेरो देश, शिरैमा फोटो छ, सालैजो, जोगले हुन्छ भेट लगायत दुई दर्जन बढी गीत नेपाली संगीत क्षेत्रमा सदावहार गीतका रुपमा लोकप्रिय र जनमनमा रुचाइएको गीतको रुपमा रहेको छ ।
सोमबार साँझसम्ममा अनलाइन मार्फत टिकट खरिदको भुक्तानी १५ सय नाघेको र दोहोरो बुकिङ भएका झण्डै १ हजार टिकट रद्द गरिएको आयोजकले जनाएको छ । टिकट खरिदका लागि तोकिएको लोकल सिबुया रेष्टुरेण्ट सिबुया र काठमाडौं लाउञ्ज एण्ड बार ओकुबोबाट समेत गरि ७ सय भन्दा बढि टिकट विक्रि भएको छ । सोमबार अबेरसम्ममा भिजोनिया कम्पनी र तोकिएको स्थानबाट समेत गरि साधारण र भिआइपि टिकट विक्रि समेत गरेर टिकट २३ सय ५० विक्रि नाघेको कम्पनीले जनाएको छ ।

तोकिएका ठाउँबाट मंगलबार बिहानसम्म टिकट विक्रिको लागि समय तोकिएको र टिकट विक्रिको प्रतिबद्धता सहित लगेको समेत गरि २९ सय टिकट बजारमा रहेको आयोजकले जनाएको छ ।

कन्सर्ट आयोजना हुने तोयोसु हलको क्षमता करिव ३,५०० रहेकाले हलमा करिव ३ सय टिकट विक्रिका लागि उपलब्ध हुने देखिएको छ । आयोजकले अनलाईन टिकट खरिद गर्न समस्या भोगेका, टिकट खरिदका लागि टाढा परेकाले कन्सर्ट हलमानै खरिद गर्ने जस्ता कारण ३ सय भन्दा बढि व्यक्तिले अनुरोध गरेको जनाएको छ ।

तर टिकट बुकिङ मात्र गराएर टिकट उपलब्ध गराउन नसकिने जनाउँदै कन्सर्ट स्थलमा पहिला आउने व्यक्तिलाई पहिलो प्राथमिकतामा टिकट उपलब्ध गराउने आयोजकले जनाइएको छ ।

टिकट खरिद गर्न बाँकी व्यक्तिलाई मध्यनजर गरेर दिउँसो ३ बजेबाटनै कन्सर्ट हल परिसरमा टिकट उपलब्ध हुने भएकाले समयमै उपस्थित भएर टिकट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ । कन्सर्ट हलमा तोकिएको क्षमता भन्दा एकजनापनि बढि दर्शक प्रवेश नपाउने भएकाले टिकट खरिद गरेका सबैमा आयोजकले समयमै उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

कन्सर्ट हल ५ बजेबाट प्रवेश खुला हुने र ठिक ६ बजेबाट नेपथ्य व्याण्डको प्रस्तुती सुरु हुनेछ ।

अनलाईन मार्फत टिकट खरिद गरेका सबैलाई अनिवार्य क्युआर कोडको प्रिन्ट मोबाइलमा स्क्रिन सट वा पिडिएफ मध्ये कुनै एउटा लिएर आउन अनुरोध गर्दै डेस्टिनि क्रियशनका इभेन्ट म्यानेजर अशिम बस्नेतले एउटा क्युआर कोड एकपटक मात्र स्क्यान गर्न मिल्ने भएकाले एकैपटक धेरै टिकट खरिद गरेका व्यक्तिलाई पिडिएफमा रहेको फरक फरक क्युआर कोड एक एक जनाले लिएर आउन समेत आग्रह गर्नुभयो ।

सोमबार सम्म सामान्य तर्फ ६,००० येनमा उपलब्ध गराइएको टिकट कन्सर्ट स्थलमा ७,००० येनमा खरिद गर्न सकिनेछ ।
भिआईपी तर्फको टिकट नेपथ्य व्याण्डको टिसर्ट र नेपालको राष्ट्रिय झण्डा सहित १ मान येन रहेको छ । भिआईपी टिकट खरिद गर्ने व्यक्तिहरुले स्टेजको पहिलो लहरमा रहेर नेपथ्य व्याण्डको सांगितिक प्रस्तुतीको विशेष मजा लिनसक्नेछन् ।

नेपथ्य व्याण्डको टोकियो कन्सर्टको व्यवस्थापन डेस्टिनि क्रियशनले गरिरहेको छ ।

नेपथ्य व्याण्डले टोकियो सहित फुकुओका र ओसाका शहरमा पनि सांगितिक प्रस्तुती पस्कने कार्यक्रम छ ।