आइतबार, फागुन १३, २०८०

चुनाव गराउनु नै मेरो जित हो : प्रधानमन्त्री प्रचण्ड

चितवन,६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा कुनै दल विशेष जित्यो भन्नु भन्दा पनि सिंगो देशले जितेको टिप्पणी गरेका छन् ।

चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उदघाटन समारोहलाई शुक्रबार सम्वोधन गरेका प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन परीणाम प्रति टिप्पणी गर्दै भने ‘निर्वाचनमा कांग्रेसले जितेपनि, एमालेले जिते पनि, माओवादीले जितेपनि आफैले र देशले नै जितेजस्तो लाग्छ ।’

उनले थपे, ‘मलाई कुन पार्टी जित्यो भन्नेसँग मतलव छैन, घरमा टिभी हेर्न पनि छाडिदिएँ ।’

पहिलो चरणको स्थानीय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन पहिलो चरणको निर्वाचन गर्नुभन्दा अझै बढी चुनौतीपूर्ण र गम्भीर रहेको बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई अझै बढी उत्साह र उमंगका साथ सम्पन्न गर्नुपर्ने चुनौती सरकारका सामु रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘आजै मैले दोस्रो चरणको निर्वाचनका सन्दर्भमा छलफल गर्न मधेशी मोर्चा र प्रमुख दलहरुको बैठक बालुवाटारमा बोलाएको छु, एउटा निकास तत्कालै निस्कन्छ ।’

दोस्रो चरणको निर्वाचन पछि देशमा आएको राजनीतिक परीवर्तन संस्थागत हुने विश्वास उनले व्यक्त गरे ।