काठमाडौं । बङ्गलादेशलाई पराजित गर्दै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ । आइतवार बंगलादेशको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि गत बिहीबार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।
योसँगै नेपालले गतवर्ष काठमाडौंमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारेको बदला लिएको छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।