नागोया । नेपाली व्यवसायीहरुको लगानीमा जापानको नागोयामा स्थापना भएको तोकाई बाटिका इन्टरनेशनल स्कुलले आफ्नो प्रथम वार्षिक उत्सव भव्य रूपमा मनाएको छ ।
स्कुलको आफ्नै सभा हलमा आयोजना गरिएको उक्त विशेष कार्यक्रममा नेपाली अनि जापनिज समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रम एनआरएनए एसिया प्यासिफिक उपसंयोजक ददिवल खड्का र स्कुलका प्रमुख सञ्चालक डा. सुदिप अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा चितवन समाज जापानका पूर्व अध्यक्ष डा सरोज कँडेल, एनआरएनए आईसिसि सदस्य दीपक कार्की, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम शीतल, कार्य समिति सदस्य रामु थापा काजी, एनआरएनए नागोयाका उपाध्यक्ष भेषनाथ गौतम र कुशल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
वार्षिक उत्सव कार्यक्रमको सुरुवात नेपाल र जापानको राष्ट्रिय गानबाट गरिएको थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
उक्त स्कुलमा केजीदेखि कक्षा ७ सम्म सञ्चालन भएको र प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य रहेको छ।
विद्यालयमा नेपाली पाठ्यक्रममा आधारित भएर नेपाली र सामाजिक अध्ययन एवम् जीवनोपयोगी शिक्षा नेपालीमा, अङ्ग्रेजी, गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी माध्यममा शिक्षण गरिनुका साथै जापानी भाषासहित अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरिएका छन् ।
कार्यक्रमको सञ्चालन स्कुलकी शिक्षिका गंगा शाक्य र अनिता पराजुलीले संयुक्त रूपमा गरेका थिए ।

