सोमबार, भदौ ३१, २०८१

आफूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको छैन : मन्त्री गगन थापा

काठमाडौं,३० बैशाख । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले कपन घटनाबारे स्पष्टीकरण दिँदै आफूले आचार संहिता उल्लंघन नगरेको बताएका छन् ।

कपनबाट लखेटियो भन्ने प्रचार गलत भएको भन्दै उनले आफू फेरि कपन जाने बताए । साथै उत्तेजनामा नआउन पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।

फेसबुक लाइभमार्फत स्पष्टीकरण दिँदै कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री थापाले मामाघर गएर फर्किने क्रममा पार्टीका स्थानीय कार्यकर्तासँग छलफल गरेको बताए । उनले भने, ‘मतदातासँग मत मागेको होइन, पार्टीका स्थानीय साथीहरुसँग छलफल गरेको हुँ र आचारसंहिता उल्लंघन होइन ।’

छलफलबाट बाहिर निस्कनासाथ एमालेका नेता, कार्यकर्ताले आफ्नो गाडीलाई घेर्दै नाराबाजी गरेको उनले सुनाए । वादविवाद गर्दा अपि्रय स्थिति होला भन्ने लागेर आफू त्यहाँबाट हिँडेको तर, त्यसक्रममा मोटरसाइकलले पछ्याउनेदेखि गाडीमा ढुंगा हान्ने काम समेत भएको उनले बताए ।

यसलाई कमजोरी ठानेर कपनबाट लखेटियो भन्ने प्रचार गरिएको भन्दै थापाले आपत्ति जनाए ।