सोमबार, भदौ ३१, २०८१

अन्तिम दिन चितवनमा कांग्रेस-माओवादी र एमालेको चुनावी सभा

भरतपुर,२८ वैशाख । कांग्रेस-माओवादी गठबन्धन र एमालेले बिहीबार चितवनमा चुनावी सभा आयोजना गरेका छन् । कांग्रेस-माओवादीले संयुक्त रुपमा केन्द्रीय बस टर्मिनलमा र एमालेले एक्लै नारायणगढको पोखरा बसपार्कमा चुनावी सभा आयोजना गरेका छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार बिहान चितवन आएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनलाई तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेस र माओवादी गठबन्धनबाट मेयर पदको उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल छिन् भने उपेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन् ।

यसैगरी एमालेले मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्यलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीसँग आगामी संसदीय चुनावपछि पनि दीर्घकालीन सहकार्य गरिने बताएका छन्

कांग्रेस – माओवादी तालमेल गरि संयूक्त चुनावी सभा 

भरतपुर महानगरपालिकाको चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्डसँगै विहीबार एउटै विमान चढेर भरतपुर आएका देउवाले प्रचण्डको चाहना पनि कांग्रेससँग दीर्घकालीन सहकार्य गर्ने रहेको बताए ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीवीच भएको तालमेलको प्रशंग कोट्याउँदै कांग्रेस सभापति देउवाले भने- नेपालमा यसको धेरै ठूलो राजनीतिक महत्व छ, अहिले हाम्रो संयुक्त सरकार छ । स्थानीय चुनावमा मात्रै होइन, प्रान्तीय र संसदीय चुनावपछि पनि हामी संगसँगै जान सक्छौं । माओवादी र कांग्रेसको सहकार्यका धेरै दिनसम्म अगाडि लानुपर्ने अबको आवश्यता छ । प्रचण्डजीको चाहना पनि यही छ ।’

बाह्रबुँदे समझदारी हुँदा आफू जेलमा रहेको बताउँदै देउवाले गिरिजाबाबु र प्रचण्डको नेतृत्वमा भएको सोही सहकार्यले राष्ट्रिय मेलमिलाप गराएको बताए ।

 एमालेको छुटटै चुनावी सभा 

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने- ‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन् ।’

माओवादी-कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए ।

ओलीले भने- ‘चितवनकै बाँदरमुढे घटनाका घाइते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै सुम्लाका डाम छन् ।’

एमाले अध्यक्ष ओलीले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नबस्नसमेत आग्रह गरे ।

माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय बर्बाद बनाएको बताउँदै ओलीले भने- ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’