सोमबार, भदौ २४, २०८१

सूचना विभागकै पासका आधारमा मतदानको रिपोर्टिङ

काठमाडौं,२७ बैशाख । निर्वाचन आयोगले सूचना विभागले उपलब्ध गराएको प्रेस पासकै आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार संकलन गर्न पाउने जनाएको छ । यसअघिका निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विशेष पास दिने गरिन्थ्यो ।

सचिव गोपिनाथ मैनालीले सञ्चारकर्मीले आफ्नो परिचय पत्रका आधारमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदान अधिकृतको अनुमतिका आधारमा सम्बन्धित मतदान केन्द्र भित्रको समाचार संकलन गर्न पाउने बताए । ‘कुनै खालको विशेष पासको व्यवस्था गरिएको छैन,’ उनले भने । मतदान अधिकृतको अनुमति लिएरै फोटो पत्रकारहरुले पनि मतदान केन्द्र भित्रको तस्विर लिनुपर्ने व्यवस्था गरिएको छ ।

मतपत्रलाई लिएर मतदातामा अन्यौलता बढेको पाइएपछि आयोगले मतपत्रमा रहेको निर्वाचन चिन्हबारे मतदान केन्द्रमै मतदाता शिक्षा दिने भएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणको ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय भएको बताए ।

बैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रमा त्यसका लागि स्वयंसेवक परिचालन गरिने शर्माले जनाए । आयोगले उक्त तीन दिनमा मतदान केन्द्रबाटै मतदाता परिचयपत्र पनि वितरण गर्नेछ ।
मतदाता परिचयपत्र लिन आउने मतदातालाई स्वयंसेवकले नमुना मतपत्रका आधारमा मतदान गर्ने सही तरीकापनि सिकाउने शर्माले जानकारी दिए ।