बुधबार, बैशाख १२, २०८१

पोखरा स्पोर्ट्स अवार्ड : ह्याण्डबललाई उत्कृष्ट सङ्घ अवार्ड, निसिमलाई कीर्तिशेष सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारको विशेष सहयोगमा हुने पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही वैशाख २३ गते पोखरा सभागृहमा हुने अवार्ड वितरण कार्यक्रमको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको मञ्चले आज पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।

यसैगरी अवार्डको ट्रफीसमेत सार्वजनिक गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्वअध्यक्षद्वय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले ट्रफी सार्वजनिक गरेका थिए ।

मञ्चले वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबको अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घलाई प्रदान गर्ने घोषणा गरेको छ । गत वर्ष पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ह्याण्डबल खेलतर्फ प्राप्त गरेको सफलताका आधारमा सो अवार्ड प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष बरालले बताए ।

उनले भने, “राष्ट्रिय खेलकुदमा ह्याडबलतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन बन्यो । अधिकांश कास्कीका खेलाडीले सो उपलब्धि प्राप्त गर्दा सङ्घको ठूलो मेहनत रहेको छ । भौतिक पूर्वाधारतर्फ समेत ह्याडबल सङ्घ अब्बल रह्यो । सोही आधारमा अवार्ड दिने निर्णय गरेका हौँ ।”

उत्कृष्ट खेल सङ्घको अवार्ड विजेताले रु ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनुभएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान अर्पण गरिने मञ्चले जनाएको छ ।

निसिमको राष्ट्रिय खेलकुदमा भाग लिएकै बेला पोखराको सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएको थियो । स्पोर्ट्स अवार्डमा कुल सात विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गङ्गाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन् ।

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।

उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा परेका छन् । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्् ।

उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा गरिसकेको छ । स्पोर्ट्स अवार्डका लागि रु ३२ लाख २५ हजार खर्च लाग्ने अनुमान मञ्चको छ । सरकारी तथा निजी क्षेत्रबाट सहयोग रकम जुटाएर कार्यक्रम सम्पन्न गरिने मञ्चका कोषाध्यक्ष कविता घर्तीमगरले बताए ।