काठमाडौँ,२५ बैशाख । कांग्रेस नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले न्यायापालिका र व्यवस्थापिका संसदबीचको विवादलाई पहिलो चरणको चुनाव लगत्तै समाधान गर्ने बताएका छन् । मन्त्री लेखकले चुनावपछि संविधान संशोधनको विवाद पनि मिल्ने बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले संविधान संशोधनको विधेयकमा राजपा लगायत सरोकारवाला दल र सत्तारुढ दलमा कुनै मतभिन्नता नरहेको भन्दै थोरै प्राविधिक समस्या सल्टाउनुपर्ने बताए ।
उनले एमालेको सहयोग लिएर सर्वसहमतिमा संविधान संशोधन गर्न चाहेको र त्यसबारे छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘अब संशोधनका लागि प्राविधिक काम बाँकी छ, त्यसका लागि एमालेले असहयोग गर्दैन भन्ने हाम्रो विश्वास छ ।’
उनले व्यवस्थापिका, न्यायालय र कार्यपालिकावीच देखिएको अधिकार क्षेत्रको दुविधा निर्वाचन पश्चात संविधान संवत रुपमा समाधान गर्ने बताएका छन् । चुनाव अघि अब यस विषयमा प्रवेश नगर्ने बताएका हुन् ।
यसैबीच नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारको क्रममा आफ्नो पार्टीलाई लक्षित गरी आक्रमण भएको भन्दै भ्रत्सना गरेको छ । कांग्रेसले यस्ता घटना तत्काल बन्द गरेर शान्तिपूर्ण प्रतिस्पर्धामा आउन पनि सम्वन्धित दललाई आग्रह गरेको छ ।