बिहिबार, जेठ १७, २०८१

एक हप्ताको लागि उपप्रधानमन्त्रीसहित ३ मन्त्रालय सम्हाल्दै गच्छदार सिंहदरवार भित्रिने

काठमाडौँ,२५ बैशाख । यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् ।

त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पाउने भएको छ । यसअघि यी तीनवटै मन्त्रालय कमल थापा नेतृत्वको राप्रपाले सम्हालेको थियो ।

पहिलो चरणको स्थानीय निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र अर्को सरकार गठन हुने कांग्रेस र माओवादीवीच पूर्वसहमति छ । यो सहमति कार्यान्वयन भयो भने गच्छदार अब एक हप्ताका लागि उपप्रधानमन्त्री हुनेछन् ।

तर, प्रचण्ड नेतृत्वको सरकार ढलेर देउवाको नेतृत्वमा अर्को सरकार बन्दा पनि अहिलेको सत्तारुढ गठबन्धन नटुट्ने सत्तापक्षका नेताहरुले बताएका छन् ।