सोमबार, भदौ ३१, २०८१

महाअभियोग अघि नबढाउन सर्वोच्चको आन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा विचाराधीन महाअभियोग अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई तत्काल काम र्फकन पनि भनिएको छ ।

महाअभियोगविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले महाअभियोग प्रस्ताव संविधानको मर्म र भावना अनुसार नआएको बताएको छ ।

सर्वोच्चले रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । साथै प्रधानन्यायाधीश कार्कीलाई आजै आफ्नो काम गर्न दिन भनेको छ ।

न्यायाधीयबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादनमा गभ्भीर विचलन भए-नभएको छलफल भएर निस्कने परिणाम वस्तुगत र प्रमाणयोग्य आधार भए मात्र महाअभियोग प्रस्ताव संवैधानिक र जायज हुने आदेशमा उल्लेख छ ।

सर्वोच्चको आदेशमा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुनु नपर्ने १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीको नाममा भनेको छ ।