मङ्गलबार, असोज २२, २०८१

काठमाडौंमा विद्यासुन्दरको चुनावी कमाण्डर केशव स्थापित

काठमाडौं, २२ वैशाख । काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितले महानगरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताएर देखाइदिने वताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहेको कार्यक्रममा स्थापितले निर्वाचन स्टेरिङ कमिटीको फ्रन्टलाइनमा आफूले काम गर्ने समेत वताए ।

काठमाडौंको निर्वाचन परिचालनका लागि राजधानीमा बिहीवार आयोजित भेलामा एमाले अध्यक्ष ओलीले मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यको चुनावी कमाण्ड सम्हाल्न स्थापितलाई आग्रह गरेका थिए । ‘केशवजी काठमाडौं महानगरको चुनावमा विद्यासुन्दरको सारथी बनेर कमाण्ड सम्हाल्नुस्’ ओलीले भने, ‘काठमाडौंको यो चुनावको महाभारत जित्नु पर्छ ।’

स्थापितले पनि चुनावको महायज्ञमा शाक्यले जित्ने दावी गरे । चुनावको नतिजा आउँदा एमालेले विजयको तिलक लगाउने स्थापितले वताए । ‘काठमाडौं महानगर मात्रै होइन वरिपरीका नगरमा पनि एमालेले विजयको तिलक लगाउँछ’ स्थापितले भने, ‘म विद्यासुन्दर नेतृत्वको टिम जिताउन मैदानमा उत्रिसकेको छु, थोरै मतले होइन धेरै मतको अन्तरले जितिन्छ ।’

अध्यक्ष ओलीले आगामी स्थानीय तहको चुनावमा एमालेले स्वर्ण पदक ल्याउनेमा कुनै शंका नभएको वताए ।  ‘हामी खेलको मैदानमा प्रवेश गरिसकेका छौँ,’ उनले भने, ‘स्वर्ण पदक बाहेक एमालेले सोच्नै सक्दैन । जनताको जनमत र अभिमत पनि यही हो’ ओलीले भने । उनले कांग्रेस र माओवादी केन्द्रप्रति लक्षित गर्दै रजत र कास्यका लागि उनीहरुले गरेको प्रतिस्पर्धाले एमालेलाई खासै फरक नपर्ने वताए । ‘नीति, विचार, सिद्धान्त, आचरण सबै कुरामा एमालेसँग प्रतिस्पर्धा गर्ने कुनै पनि शक्ति छैन,’ उनले भने, ‘जालझेलको मैदानमा उनीहरु (कांग्रेस–माओवादी)को एकलौटी छ ।’

ओलीले जालझेलको राजनीति स्थायी नहुने भन्दै उनले यसलाई परास्त गरी छाड्ने वताए । ‘हरेक राजनीतिक परिवर्तनका क्रममा नक्कली आडम्बरी, जालझेल र तमासा गर्नेहरु पटक–पटक पहिलो भएकाले देश समस्यामा पर्यो’ उनले भने, ‘अब जनतामा भ्रम फैलाएर राजनीति गर्ने दिन गए ।’

उनले कांग्रेस–माओवादीको वैशाखी नै जालझेल भएकाले उनीहरु जनतामाझ नाङ्गिएको वताए । ‘वकवास गरेर अब पनि जितौंला भन्ने आशा नगरे हुन्छ’ उनले भने, ‘अहिले उनीहरु एमाले महिला विरोधी भयो भनेर हल्ला गरिरहेका छन् । महाअभियोगको अनुचित प्रस्ताव ल्याएर पहिलो पटक बनेकी महिला प्रधानन्यायाधीलाई हटाउनेहरुले एमाले महिला विरोधी भयो भनेर हल्ला गर्न मिल्छ ?’

कमल थापालाई दण्डवत गरेर थाकेका कांग्रेस र माओवादीले एमालेसँग चुनावी तालमेल गर्दा अनावश्यक प्रचारबाजी गरेको ओली वताए । ‘अहिले एमालेले राप्रपासँग तालमेल गर्यो भनेर हल्ला गरेका छन्,’ उनले भने, ‘उपप्रधानमन्त्री नछाड्नु है भन्दै दण्डवत गर्नेहरुले एमालेलाई त्यस्तो आरोप लगाउन मिल्छ ?’ उनले देशभक्त बामपन्थी शक्तिलाई हराउन कांग्रेस र माओवादीको तालमेल गरेको भन्दै त्यसलाई अपवित्र गठबन्धनको संज्ञा दिए ।

स्थापित र श्रेष्ठले शाक्यलाई दिए जीतको शुभकामना 
एमालेका तर्फबाट मेयरका रुपमा दाबी गरिरहेका केशव स्थापित र जीवनराम श्रेष्ठले शाक्यलाई जीतका लागि शुभकामना मात्रै दिएनन्, उनीहरुले आफूहरु पनि शाक्यको प्रचार–प्रसारमा लागेको घोषणा गरे । अध्यक्ष ओलीलाई अघि राखेर तीनै जनाले हात उठाएर एक भएका सन्देश दिए ।

भेलाले स्थायी समिति सदस्य शंकर पोखरेलको संयोजकत्वमा निर्वाचन स्टेरिङ कमिटी गठन गरेको छ । स्टेरिङ कमिटीमा पूर्व मेयर केशव स्थापित, नेता सानु श्रेष्ठ, राजन भट्टराई, जीवनराम श्रेष्ठ र कृष्ण राई रहेका छन् ।