काठमाडौं,२० वैशाख । विदेशमा गएका नेपाली कामदारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा विश्वमै दोस्रो तहमा रहेर विप्रेषण (रेमिट्यान्स) पठाउने गरेका छन् ।
विश्व बैंकले हालै सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट रिपोर्ट’ मा नेपालले सन् २०१६ मा जीडीपीको तुलनामा २९.७ प्रतिशत बराबर रेमिट्यान्स भित्राएकोको उल्लेख छ ।
विश्व बैंकका अनुसार नेपालमा ६ अर्ब ३० करोड अमेरिकी डलर (राष्ट्र बैंकका अनुसार ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ) रेमिट्यान्स भित्रिएको छ । जीडीपीको संशोधित आंकलनअनुसार जीडीपी रेमिट्यान्स अनुपात भने ३३.४६ प्रतिशत पुगेको छ ।
विभागको संशोधित अनुमानअनुसार गतवर्ष १९ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँबराबरको जीडीपी रहेको छ । यसअघि २२ खर्ब ४९ अर्ब जीडीपी हुने अनुमान थियो ।
यसअघि सन् २०१५ मा पनि (जीडीपी) को २९.४ प्रतिशत बराबरको रकम रेमिट्यान्स भित्राएका थिए । केन्द्रीय तथ्यांक विभागले पनि गत वर्ष जीडीपीको २९.५९ प्रतिशत बराबरको रेमिट्यान्स भित्रिएको जनाएको छ ।
विभागले चालू वर्ष भने जीडीपीको तुलनामा रेमिट्यान्सको हिस्सा घट्ने अनुमान गरेको छ । यस वर्ष जीडीपीको २६.९४ प्रतिशत मात्रै रेमिटेन्स भित्रिने विभागले उल्लेख गरेको छ ।
त्यसो त चालू वर्ष रेमिट्यान्स वृद्धि दर न्यून छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा गत वर्षको फागुनसम्मको तुलनामा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ४ खर्ब ४९ अर्ब ९९ करोड पुगेको उल्लेख छ । यो वर्ष चालू मूल्यअनुसार आधारभूत मूल्यमा २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ जीडीपी हुने आंकलन गरेको छ ।
०७२ वैशाख १२ को भूकम्प र गत वर्षको लामो सीमा नाका अवरोधलाई सहयोग पु¥याउन घरपरिवारका सदस्यहरूले विदेशबाट जोरजाम गरेर नेपालमा पैसा पठाए पनि पछिल्लो वर्ष बिदेसिने नेपालीको संख्या १८.४ प्रतिशतले घटेको छ ।
त्यसको असर चालू वर्षको रेमिट्यान्समा पर्नेछ ।जीडीपीको तुलनामा नेपालभन्दा अगाडि रहेको किर्जिकिस्तानको ३४.५ प्रतिशत छ । गत वर्ष किर्जिकिस्तानले २ अर्ब डलर रेमिट्यान्स भित्राएकाे थियो ।
अघिल्लो वर्ष पहिलो सूचीमा रहेको ताजकिस्तानको जीडीपीमा रेमिटेन्स अनुपात घटेको छ । २०१५ मा जीडीपीको ३६.६ प्रतिशत रेमिट्यान्स भित्राएकाे ताजकिस्तानले सन् २०१६ मा भने २६.९ प्रतिशत मात्रै भित्राएकाे छ ।
२०१६ मा रकमका आधारमा सबैभन्दा बढी रेमिट्यान्स भने छिमेकी मुलुक भारतले ६२ अर्ब ७० करोड डलर बराबर भित्राएको छ । भारतको वर्ष २०१६ मा रेमिट्यान्समा ८.९ प्रतिशतले कमी आएको छ । त्यसपछि चीनले ६१ अर्ब डलर रेमिट्यान्स भित्राएको थियो ।
सन् २०१६ मा विकासोन्मूख मुलुकहरूमा समग्रमा २.४ प्रतिशतले रेमिट्यान्समा गिरावट आएको छ । दक्षिण एसियाली मुलुकहरूमा भने ६.४ प्रतिशतले रेमिट्यान्समा कमी आएको छ ।
दिगो विकास लक्ष्यअनुसार रेमिट्यान्स पठाउँदा लाग्ने खर्चलाई ३ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइए पनि २०१७ को पहिलो त्रैमासमा प्रति २ सय डलरमा ७.४५ प्रतिशत खर्च लागेको विश्व बैंकले जनाएको छ ।
स्रोत : अन्तर्राष्ट्रिय मुद्रा कोष