काठमाडौं २० वैशाख । अवैधानिक रुपमा भारत हुँदै दुबई पुगेका आज १२ जना महिला कामदार फिर्ता भएका छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दुबई पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुबेत जान भनेर हिँडेका महिलालाई दुबईबाट उद्धार गरेर नेपाल फर्काइएको हो ।
उद्धार गरिएका महिलाहरु बर्दिया, महोत्तरी, भक्तपुर, धनकुटा, झापा, सिन्धुपाल्चोक, मकवानपुर, मोरङ लगायत जिल्लाका हुन् ।
उद्धार गरिएका कतिपय महिलाकोे पासपोर्ट २०१२ मै विदेश गएको भिसा लागेको पाइएको छ । भारतको बाटो भएर उनीहरु विदेश गएका हुन् ।
नेपाल र भारतबीच भारतको बाटो भएर नेपाली कामदार नपठाउने समझदारी छ । तर, उनीहरु भारतबाटै गएको पाइएको छ ।
सरकारले वैधानिक रुपमा घरेलु कामदार विदेश जान रोकेपछि दलालहरु थप सक्रिय भएका छन् । महिलाहरू असुरक्षित रूपमा बाहिरिने क्रम पनि बढेको छ ।