शुक्रबार, चैत १६, २०८०

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

किशोरीमाथि करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए ।

यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजातसमेत पेस गरेका थिए । सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको जन्मदर्ता झिकाउने आदेश दिएको थियो ।

अस्पतालबाट जन्मदर्ता प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो । पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक बलात्कार गरेको बयान दिएकी थिइन् ।

उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो । त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए ।

पछि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी केन्द्रीय कारागार सुन्धारामा थिए । अदालतको आदेशपछि अधिवक्ता रोजकृष्ण घिमिरेले शुक्रबार धरौटी राखेर सन्दीपलाई निकाल्ने बताए ।