सोमबार, चैत ०३, २०८१

स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी हुने

काठमाडौं,१३ वैशाख । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ ।

नयाँ शक्तिले दलीय चुनाव चिन्ह पाउनु पर्ने माग गर्दै आन्दोलन गरेको थियो । तर, मतपत्र छापिसकेको भन्दै निर्वाचन आयोगले ऐन संशोधन गर्दा पनि माग सम्बोधन नहुने बताएपछि नयाँ शक्तिले फोरमसँग मोर्चाबन्दी गरेको हो ।

उसो त डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताकै प्रयास पनि भएको थियो । तर, चुनाव अघि पार्टी एकताको सम्भावना भने टरेको छ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिह्न लिई चुनाव लड्न निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । फोरमको नाममा दर्ता भएको एक हातले समातेको मसाल चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुन दुबै दल मञ्जुर भएको निवेदनमा उल्लेख छ ।

राजनीतिक दलसम्वन्धी ऐनको दफा ४९ मा दुई वा दुई भन्दा बढी दलले कुनै दलले पाएको चुनाव चिहृन लिएर संयुक्त रुपमा चुनाव लड्न सक्ने व्यवस्ता छ ।