काठमाडौं । श्रमिक जनता बचत तथा ऋण सहकारी संस्था लि.ले ११ औं वार्षिक साधारण सभा आगामी शनिबार अर्थात पुष २३ गते गर्ने भएको छ ।
सभा संस्थाको कार्यालय नयाँ बजार काठमाडौंमा बिहान ८ बजे शुरु हुने संस्थाको संचालक समितिको बैठकले निर्णय गरेको सहकारीका अध्यक्ष कुमार दोङ तामाङले जानकारी दिए । सभाले आर्थिक वर्ष २०७८ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८र ७९ को लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नेछ ।
साधारणसभामा सहकारीकर्मीहरु लगायत सबै शेयरधनी सदस्यहरुलाई सहभागिताका लागि निमन्त्रणा गरिसकिएको बताउँदै सहकारीका अध्यक्ष तामाङले साधारण सभामा सहभागी हुन सबै शेयरधनी सदस्यहरुलाई हार्दिक आग्रह पनि गरेका छन् । सहकारीले स्थापना काल देखि नैं शेयरधनी सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको उनले बतए ।
‘सहकार्यका आधारमा उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने समाजवादी विचारक रोबर्ट ओवेनको आदर्श विचार र व्यावहारिक अनुभवबाट नै वेलायतका श्रमिकहरूले सहकारीको आविश्कार गरेका हुन् । उसोत, श्रमिकहरुलाई सामाजिक–आर्थिक क्रियाकलापमा सक्रिय भएर लाग्न सक्ने वातावरण बनाउनु पर्छ भन्ने उद्धेश्यले विगत लामो समयदेखि संचालित श्रमिक जनता बचत तथा ऋण सहकारी संस्थाले श्रमिक वर्गलाई राष्ट्र निर्माणमा सहभागी गराउन सक्ने प्रभावकारी विकल्प दिदै आएको पाइन्छ ।
पछिल्लो समय सहकारीको माध्यमबाट नै औपचारिक तथा संस्थागत रूपमा देशभरका श्रमिक परिवारलाई राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीको लागि राहत दिनुका साथै उनीहरूको श्रमबाट आर्जन भएको रकमबाट उनीहरूको सामाजिक सुरक्षाका विविध कार्यक्रम स्थापित गर्न सकिने भएको छ । हुनत, सहकारीहरू नागरिक आफैले आफ्नो, परिवार र समुदायको लागि काम गर्ने व्यवसायी संगठन हुन् । ‘श्रमिक जनता बचत तथा ऋण सहकारी संस्था लि.ले कृषि, पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक, भारी बोक्ने, रिक्सा तथा ठेला चलाउने, निर्माणसम्बन्धी काम गर्ने, पशुपालन आदि क्षेत्रका असंगठित श्रमिकहरू संगठित तथा संस्थागत जीवन बिताउन सहायोग गरिरहेको छ।

