झापा,१२ वैशाख । करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि भएको अहपरणमा सञ्चारमन्त्रीका स्वकीय सचिवसमेत संलग्न रहेको भेटिएको छ । अपहरणका योजनाकार भने पत्रकार भएको खुलेको छ । अपहरण काण्डमा सञ्चारकर्मी, माओवादी र कांग्रेसका कार्यकर्ताको समेत संलग्नता रहेको प्रहरीको दाबी छ ।
झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्नका लागि जीवन विष्टलाई अपहरण गरिएको थियो ।
प्रहरीका अनुसार अपहरण काण्डमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य -अग्नि), सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरे, माउन्टेन टीभीका झापा प्रतिनिधि शम्भु दाहाल, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटीलगायतको संलग्नता भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरु अहिले फरार छन् । उनीहरु भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको आशंका छ ।
घटना संलग्न भएको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गरी कांग्रेस कार्यकर्ता मेचीनगर-६ निवासी ४२ वर्षीय भूपू कान्छा नामले चिनिने भूपू राई, भद्रपुर-७ का ४३ वर्षीय तेजेन्द्र न्यौपाने, भद्रपुर-६ का ४० वर्षीय प्रेम न्यौपाने र मेचीनगर-४ का ४४ वर्षीय राजु कुँवरलाई सार्वजनिक गरेको हो ।
भूपू कांग्रेस कार्यकर्ता हुन् भने तेजेन्द्र जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार र प्रेम भद्रपुरका व्यवसायी हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी सैलेश थापाका अनुसार अनारमनी-४ मा रहेको कित्ता नम्बर १६९ र १७० को लगभग ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरी हडप्न खोजिएको थियो ।