काठमाडौं,१२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकार ध्रुवे हात्ती जस्तै भएको टिप्पणी गरेका छन् । डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको भन्दै उनले कानुन हातमा लिने काम नगर्न सरकारलाई चेतावनी दिए ।
सोमबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री ओलीले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई विना कारण पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरे ।
लोकतन्त्र भनेको अराजकतन्त्र होइन भन्दै ओलीले अघि भने, ‘हुन त यो सरकारलाई कताको लोकतन्त्र, कताको कानुन । चितवनतिर ध्रवे हात्तिको कुरा सुनेको थियो । ध्रुवे हात्ति जस्तै छ यो सरकार ।’
कानुन राज हुन्छ कि स्वच्छाचारी राज ? भन्ने प्रश्न गर्दै उनले अघि भने, ‘बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नु हुन्छ ? बाँच्न पाउनु पर्यो नि हजुर ।’
आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकार नै हेरफेर गरेको आरोप लगाए ।
नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले कुनै एक डीआईजीलाई आईजीपी बनाएर चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।