काठमाडौं,८ वैशाख । तराई मधेसमा हैकम जमाई रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ६ दलबीच एकता गरि राष्ट्रिय जनता पार्टी नामक नयाँ दलको घोषणा गरेको छ ।
बिहिवार राजधानीको एक पार्टी प्यालेसमा पार्टी एकताबाट नेताहरुमा नयाँखालको उत्साह देखिएको छ सुरुमा ५ पार्टीको एकता घोषणा कार्यक्रम राखिएको थियो । तर, अन्त्यतिर अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकतामा सहभागी भएपछी ६ पार्टीहरु एक भएको घोषणा गरियो ।
नेताहरुले यो एकतालाई आपसी लडाइँको अन्त्य भनेका छन् । र, अब आफूहरुलाई बासपास गरेर मुलुकको राजनीति अघि बढ्न नसक्ने बताएका छन् ।
बुधबार मध्यरातमा ५ पार्टीका अध्यक्षहरुले एकता गर्ने र राष्ट्रिय जनता पार्टी बनाउने सहमति गरेका थिए, जसमा विहीबार अनिल झा पनि थपिएपछि ६ पार्टीका नेताले हस्ताक्षर गरेका छन् ।
दिउँसो पार्टी एकता घोषणा कार्यक्रममा उपस्थित नेता कार्यकर्ता निकै उत्साहित देखिए । एकता सभामा शीर्ष नेताहरुले एकै स्वरमा ‘मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर, एकता त गरेर देखायौं’ भनेका छन् ।
तत्कालीन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘मधेसी पार्टी एकता हुन सक्दैन भन्थे तर, आज त एकता भयो । हामीले आपसी लडाइँ जित्यौं ।’
तत्कालीन फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एकताबाट आफू निकै खुसी रहेको बताए । एकता प्रक्रियामा सामेल पार्टीका नेताहरुले पनि अब आफूहरु एक भएको र यो ६ पार्टीको एकता मात्र नभई मधेस विद्रोहको एकता भएको बताए । यो एकतालाई अन्य राजनीतिक पार्टी र बिज्ञहरूले अर्थपूर्ण रूपमा हेरेका छन । स्थानीय निर्वाचनको विपक्षमा रहेको मधेसी दलहरूको एकताले तराईमा प्रभाव रहने भएता पनि यो एकताले कती प्रभाव देखाउछ आगामी दिनमा देखाउनी नै छ ।