शनिबार, बैशाख ०८, २०८१

निर्वाचनमा सबै दलहरुले भाग लिने ओलीको विश्वास

काठमाडौं,७ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

बैंककबाट उपचार गरेर स्वदेश फर्किने क्रममा विहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतान्त्रिक विधि मान्ने राजनीतिक दलहरुले निर्वाचनमा अत्तो थाप्न नहुने बताए ।

निर्वाचनलाई सबै राजनीतिक दलहरुले आफना नीति, व्यवहार र काम जनताबाट परीक्षण गर्ने अवसरका रुपमा लिनुपर्ने ओलीको भनाइ छ ।

मधेसवादी दलहरुबीच एकीकरण हुनुलाई आफूले सकारात्मक रुपमा लिएको एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुले भाग लिने विश्वाससमेत व्यक्त गरे । उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका गरिरहन नपर्ने समेत बताए ।

एमालेले अबको २ दिनभित्रै स्थानीय तहको घोषणापत्र जारी गर्ने अध्यक्ष ओलीले जानकारी दिए । आफू नेपालमा नभए पनि पार्टीले घोषणा पत्र तयार पारेको र त्यसलाई आफूले एकसरो हेरेपछि सार्वजनिक हुने उनले जानकारी दिए ।

दलीय चुनाव चिन्ह नपाउने दलहरुले निर्वाचन आयोगसँग कानुनसम्मत ढंगले वार्ता गर्न उपयुक्त हुने अध्यक्ष ओलीले सुझाव दिए ।