बिहिबार, चैत १५, २०८०

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ । शुक्रबार ढाकामा भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो ।

तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् । यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो ।

बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।