बिहिबार, बैशाख १०, २०८३

भारतलाई हराउँदै इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा

इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजीत गर्दै इङ्ल्यान्ड तेस्रोपटक टी-२० विश्वकपको फाइनलमा पुगेको  हो ।

जीतको लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १६ ओभरमै कुनै विकेट नगुमाई १ सय ७० रन बनाउँदै लक्ष्य भेट्टायो । इंग्ल्याण्डको लागि एलेक्स हेल्सले ४७ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ८६ रन बनाए । यस्तै जोस बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रन बनाए ।

यसअघि एडिलेट ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । भारतको लागि विराट कोहली र हार्दिक पान्ड्यले अर्धसतक पूरा गरे । हार्दिकले ३३ बलमा ५ छक्का र ४ चौकाको सहयोगमा ६३ रन बनाए । यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन बनाउँदा रोहुर शर्माले २७ र सुर्यकुमार यादवले १४ रन बनाए । विराटको जारी विश्वकपमा यो चौथो अर्धसतक हो ।

इंग्ल्याण्डको लागि क्रिस जोर्डनले ४ ओभरमा ४३ रन दिएर ३ विकेट लिए ।क्रिस वोक्स र अदिल रसिदले एक-एक विकेट लिए ।

अब इंग्ल्याण्डले आइतबार हुने फाइनल खेलमा उपाधिको लागि पाकिस्तानको सामना गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ७ विकेटले हराएको थियो ।