सोमबार, भदौ २४, २०८१

प्रचण्ड सरकार र मधेसी मोर्चाविच दूरी झन बढ़्यो

काठमाडौं,१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् ।

बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन संवाद गरी सहमतिमा आइदिन आग्रह गरे ।

सरकारले आफूहरूसँग गरेको सहमतिभन्दा विपरीत रहेर नयाँ संशोधन प्रस्ताव दर्ता गराएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले वार्ता र संवादमा बसी समस्याको समाधान खोज्न नेताहरूलाई आग्रह गरेका हुन् ।

संविधान संशोधनको नयाँ प्रस्ताव अगाडि बढाउँदा मोर्चा सहमतिमा आउने अपेक्षामा प्रधानमन्त्री थिए । तर, मोर्चा नेताहरूले प्रधानमन्त्रीको अपेक्षाभन्दा विपरीत चुनावमा सहभागी नहुने र बहिष्कार गर्ने निर्णय गरेपछि उनले मोर्चा नेताहरूसँग पुनः छलफलको पहल सुरु गरेका हुन् । त्यही क्रममा उनले यादव, महतोलगायतका मोर्चा नेताहरूसँग संवाद अगाडि बढाउन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

@नयाँ पत्रिका