काठमाडौं । नेपाल घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बेलुकी भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतमाथि १-० गोलको एतिहासिक जीत निकाल्दै नेपाल पाँचौपटक साफको फाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जीत दिलाउन रश्मी कुमारी घिसिङले एक गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासलाई सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल १-० गोलले विजयी भएको हो । नेपालले साफको इतिहासमा भारतलाई पहिलोपटक पराजीत गरेको हो ।
अब नेपालले सोमबार हुने फाइनल खेलमा उपाधिको लागि बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-० गोलले हराउँदै फाइनलमा पुगेको हो ।

