काठमाडौं,३१ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न र प्राधिकरणको नाममा रहेकाृ जग्गा जोगाउन काँडेतारसहित कम्पाउण्डिङ गर्ने भएका छन् ।
त्यसको उदाहरण वुधवार क्रेन लिएर कार्यकारी निर्देशक घिसिङ आफैं बालाजु पुगेका थिए । प्राधिकरणको सब९स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका थिए ।
उनले प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न क्रेनको सहयोगमा पोलहरु तेर्स्याए । जग्गा अतिक्रमकारीहरुले रोक्ने प्रयास गरे तर, सुरक्षा बलका साथ पुगेका घिसिङ आफैंले क्रेनलाई कुनै हालतमा नरोक्न निर्देशन गरिरहे र, पीच गर्न ठिक्क पारिएको बाटोमा पोलहरुको अवरोध राखेर फर्किए ।
बालाजुको प्राधिकरणको सब९स्टेशन रहेको जग्गामा भएको अतिक्रमण रोक्न घिसिङ आफैं पुग्दा स्थानीयहरु चकित भएका थिए ।
बालाजुमा प्राधिकरणको ३६ रोपनी दुई आना जग्गा छ । तर, त्यहाँ पछिल्लो समयमा घर तथा टहरा बनाएर अतिक्रमण भइरहेको छ । अतिक्रमण रोक्न प्राधिकरणले दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले प्राधिकरणकै पक्षमा फैसला समेत सुनाएको छ ।
विद्युत् प्राधिकरणले बुधबारबाट आफ्नो स्वामित्वका जग्गामा भएको आनाधिकृत अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । कार्यकारी निर्देशक घिसिङ प्रवक्ता प्रबल अधिकारीसहित उच्च अधिकारी लिएर बालाजु पुगेका थिए ।
उनले अब प्राधिकरणका अतिक्रमणमा परेका सबै जग्गाहरु हडपेर बस्नेहरुलाई हटाउने र आफ्नो जग्गा फिर्ता लिने घोषणा गरेका छन् ।
नयाँ वर्षसँगै यसको थालनी भएको भन्दै उनले अतिक्रमणबाट जोगाउन काँडेतारसहित कम्पाउण्डिङ गर्ने बताएका छन् । प्रवक्ता अधिकारीले भने, ‘हाम्रो धेरै जग्गा अतक्रमणको चपेटामा छन्। अब हामी बालाजुको मात्रै होइन, देशभरका आफ्ना जग्गालाई अरुको बलमिच्याइँका भरमा कसैलार्इ प्रयोग गर्न दिन्नौं ।’