शनिबार, बैशाख ०८, २०८१

एमाले सांसदको प्रश्न यो कस्तो प्रजातन्त्र हो सरकार ?

काठमाडौं,२९ चैत । प्रमुख विपक्षी दल एमालेले आफ्ना नेता कार्यकर्ताको घरमा आक्रमण भएको भन्दै सरकारको जवाफ मागेको छ ।

मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद रविन्द्र अधिकारीले मधेसी मोर्चाको नाममा सत्यनारायण मण्डलको घरमा आक्रमण भएको बताए ।

‘मधेसमा हिडडुल गर्न, एमालेको नाममा बोल्न, सभा गर्न, घरमा बस्न नपाइने ?’ यसअघि भएका यस्ता घटना भएको तर, दोषीलाई कारबाही नभएको भन्दै उनले भने, ‘यो कस्तो प्रजातन्त्र हो ? यो कस्तो शान्ति सुव्यवस्था हो ?’

मधेसमा एमालेले सभा गर्न थाल्यो, त्यसकारण आक्रमण भयो भन्दा प्रधानमन्त्री, गृहमन्त्री मुसुक्क हाँस्ने गरेको भन्दै उनले अघि भने, मधेसमा आफ्नै घरमा बस्दा आक्रमण भयो भन्दा पनि मुसुक्क हास्ने हो भने मुलुकको शान्ति सुव्यवस्था के होला ?

यस्तो शान्ति सुव्यवस्थाले निर्वाचन सुनिश्चित नगर्ने र मुलुकमा कोही नागरिक पनि सुरक्षित नभएको सन्देश दिने उनले बताए ।

सरकार गैरजिम्मेवार भएको भन्दै उनले देशका विभिन्न स्थानमा भएको घटनाबारे जवाफ माग गरे ।