काठमाडौं,२९ चैत । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको एक मन्त्रीले बताए ।
कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दावेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले सोमबार मध्यरातमा नै फुली लगाएका दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारहरुलाई अर्यालले फुली लगाइसकेपछि मात्र तस्वीर खिच्न दिइएको थियो ।