सोमबार, भदौ २४, २०८१

एमाले नेताहरुको रिपोर्टिङ : प्रदेश नम्बर चारमा पहिलो एमाले

पोखरा,२८ चैत । नेकपा एमालेले आगामी स्थानीय निर्वाचनमा प्रदेश नम्बर ४ मा पहिलो हुने निष्कर्ष निकालेको छ ।

नेकपा एमाले प्रदेश नम्बर ४ संगठन कमिटीको आइतबार  पोखरामा बसेको विस्तारित बैठकमा प्रदेश नम्बर चारका प्रमुख एवं पार्टी स्थायी कमिटीका सदस्य किरण गुरुङले स्थानीय निकायको निर्वाचनमा एमाले पहिलो बन्ने घोषणा गर्नुभएको हो । ‘बिभिन्न जिल्लाको रिपोर्टिङका आधारमा एमाले प्रदेश नम्बर चारमा पहिलो बन्छ’, उहाँले भन्नुभयो– ‘महानगरपालिकासहित ८३ वटा स्थानीय तहमध्ये हामी अधिकांशमा जित्छौं ।’

यसैगरी, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश उपप्रमुख गणेश तिमिल्सेनाले पार्टीको सांगठानिक सुदृढीकरण तथा विस्तार, सरकारमा गरेको काम र पार्टीप्रतिको आकर्षणले एमाले पहिलो हुने निष्कर्ष निकालिएको जानकारी दिनुभयो । टिकट दिँदा पार्टीलाई योगदान पुर्याएका पुराना र नयाँ उर्जाशीलहरुलाई प्राथमिकता दिइने बताउँदै उहाँले टिकटका लागि अनावश्यक दबाब दिनेमाथि कडाइ गरिने बताउनुभयो ।

बैठकले प्रदेश निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । प्रदेशका प्रमुख किरण गुरुङ संयोजक रहने गरी पार्टी प्रदेश संगठन कमिटी, प्रदेशका पोलिटव्युरो तथा केन्द्रीय सदस्य, केन्द्रीय तथा प्रदेश निकायका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय तथा प्रदेश विभागका सदस्यहरु, सांसदहरु, मोर्चा संगठनका केन्द्रीय पदाधिकारी, मोर्चा संगठनका प्रदेशस्तरका प्रमुख तथा उपप्रमुखहरु रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको चार नम्बर प्रदेशका प्रचार विभाग प्रमुख समेत रहेका एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश संगठन कमिटीका सचिव जगत विश्वकर्माले जानकारी दिनुभयो ।