काठमाडौं,२६ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली सार्वजनिक गरेको छ । जसमा ८० वटा दलहरुको नाम रहेको छ ।
आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरुको सार्वजनिक गरेको सूचीमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो नम्बरमा रहेका छन् । यो पटक निर्वाचन आयोगले संसदमा रहेको सिट संख्याको आधारमा दलहरुलाई क्रमबद्ध रुपमा राखेको हो । यसअघि दल दर्ता गर्न पुग्ने आधारमा नामवली राख्ने गरीन्थ्यो । निर्वाचनमा भाग लिने दलहरुको सूचीको पाँचौं नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम रहेको छ ।
आयोगले सार्वजनिक गरेको सूचीमा अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन नसकिने भन्दै आइरहेका मधेसवादी दलहरुको नामसमेत छ । उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरमले यथास्थितिमा निर्वाचनमा भाग नलिने बताइरहे पनि उसको नाम निर्वाचनमा भाग लिने दलहरुको सूचीको छैटौं नम्बरमा छ । त्यस्तै निर्वाचन बहिस्कारको पक्षमा रहेका राजेन्द्र महतोको पार्टीको नाम आठौं नम्बरमा छ । निर्वाचनको विपक्षमा रहेका राजकिशोर यादवलगायत दलको नाम पनि आयोगले निर्वाचनमा भाग लिने भनेर निकालेको दलको सूचीमा छ।