बिहिबार, बैशाख १३, २०८१

एकै चरणमा चुनाव गराउनु पर्नेमा कांग्रेसको जोड

काठमाडौं,२६ चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव सबैको सहमतिमा परिमार्जन गरी अगाडि बढाउनु पर्ने ठहर गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको संयुक्त बैठकले समयमै निर्वाचन गराउन मधेसी मोर्चालाई पनि सहमतिमा लिएर जानुपर्ने भन्दै परिमार्जनसहित संविधान संशोधन विधयेक अगाडि बढाउनु पर्ने निश्कर्ष निकालेको हो ।

बैठकले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने र त्यसको लागि सरकारले वातावरण बनाउन पर्ने ठहर पनि गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निवार्चन हुनेमा शंका नराखी निर्वाचनको तयारी थाल्नु पर्नेमा जोड दिएका थिए ।

यसअघि सदस्यहरुले दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव सरकार लम्ब्याउने उद्देश्यमा आएको हुनसक्ने भन्दै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याई एकै चरणमा चुनाव गराउनु पर्नेमा जोड दिएका थिए ।

उपप्रधानमन्त्री कमल थापाको बरियता अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिभन्दा अगाडि राख्न नहुनेमा पनि उनीहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

घोषणा–पत्रका लागि सुझाव लिन भन्दै बसेको संयुक्त बैठक समसामयिक विषयमा बढी केन्द्रित भएको थियो ।