शुक्रबार, चैत १६, २०८०

एमालेलाई सरकारले भन्यो संविधान संशोधनमा सहयोग गर्नुस

काठमाडौं,२५ चैत । सरकारले प्रमुख विपक्षी नेकपा एमालेसामू मधेसी मोर्चालाई चुनावमा ल्याउन सीमांकन बाहेकका विषयमा संविधान संशोधन गर्न सहयोग मागेको छ ।

प्रधानमन्त्री प्रचण्डसहित माओवादी नेताहरुले शुक्रबार एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । बालुवाटारमा भेटमा प्रधानमन्त्रीले सीमांकनलाई थाती राखेर संविधान संशोधन गर्ने र मधेसी मोर्चालाई चुनावमा ल्याउने प्रस्ताव राखे । ‘सीमांकनमा एमालेको गम्भीर आपत्ति हो । त्यसलाई छाडेर अरु विषयमा संशोधन गर्न सहमति गरौं भनेर हामीले भन्यौं’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

सीमांकनका विषयलाई सम्बोधन गर्न भने संघीय आयोग बनाउने प्रचण्डको प्रस्ताव थियो ।

जवाफमा एमाले अध्यक्ष ओलीले मधेसी मोर्चाको ठोस धारणा के हो अझै प्रष्ट नभएको बताए । ‘उहाँले केके विषयमा संविधान संशोधन गर्ने हो, तपाईहरुको ठोस प्रस्ताव ल्याउनु भन्नु भएको छ’ स्रोतले भने ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले नेताहरुसँग छलफल भएको स्वीकार गरे । उनले भने, ‘मधेसी मोर्चासँग कुरा पनि गर्ने र सहमतिको प्रस्ताव पनि तयार पर्ने तयारीमा सरकार जुटेको छ ।’

प्रधानमन्त्री प्रचण्डले हालै मात्र मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक सम्वाद गरेका थिए ।

प्रचण्डले सीमांकन आयोग गठन गर्ने, संसदमा हाल रहेको संशोधन विधेयकको भाषा, नागरिकता र राष्ट्रिय सभा गठनका साथै निर्वाचक मण्डलबाट स्थानीय तहलाई डिलिंक गर्ने र २७४ संशोधन गर्ने गृहकार्य थालेका छन् ।