काठमाडौं,२५ चैत । नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज बेच्ने अमेरिकी कम्पनी एएआर कर्पोरेसने काठमाडौं आएको छ । एएआरले बिहीबार निगम सञ्चालक समितिसँग खरिद सम्झौताको लागि छलफल थालेको छ ।
खरिद सम्झौताको लागि एएआरको चार जनाको टोली बिहिबार काठमाडौं आएको हो । खरिाद सम्झौताको लागि दुई दिनसम्म छलफल चल्न सक्ने नेपाल बायु सेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।
माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।
बैना पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो । जसअनुसार दुई जहाजका लागि निगमले करिब साढे २२ अर्ब रुपैयाँ तिर्नुपर्ने छ ।
२०१८ को जनवरीसम्ममा दुबै जहाज ल्याउने निगमको तयारी छ । वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।