शनिबार, असोज १३, २०८०

राप्रपाको निर्वाचन कार्यक्रम सञ्चालन निर्देशिका तयार

काठमाडौं,२४ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ ।

स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको सो निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका कार्यकर्तालाई परिचालन गर्नेबारेमा उल्लेख गरिएको छ ।

सर्वसाधारण जनता र राप्रपाबीचको सम्बन्धलाई बढी निकट र आत्मीय तुल्याउनका लागि सो निर्देशिका प्रकाशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उक्त निर्देशिकाले पार्टीको एजेण्डाप्रति आम जनतामा सकारात्मक भावना बढाउन सहयोग पुर्‍याउने   छ ।

त्यसैगरी, मुलुकको वर्तमान अवस्थाबारे आम जनतालाई जागरुक बनाउने विषयमा निर्देशन गरिएको निर्देशिकाअनुरुप आगामी स्थानीय चुनावको तयारी देशव्यापी रुपमा सञ्चालन गरिनेछ ।

पार्टीद्वारा निर्वाचनलाई लक्ष्य गरेर हालै सञ्चालन भइरहेको ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रममार्फत जनताको घरघरमा पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शलाई पुर्‍याइने  कार्यक्रम छ ।

घरदैलो कार्यक्रममा सबै वडा, गाउँ, नगरभित्रका घरमा पार्टीका कार्यकर्ता पुग्ने छन् । वडा एकाई समितिका सदस्य, भ्रातृ सङ्गठनका सदस्य रहनेगरी वडाको भौगोलिक अवस्था हेरेर एक वा सोभन्दा बढी टोली बनाउन सकिनेछ ।

पार्टीको बुद्धिजीवी परिषद्ले प्राध्यापक, शिक्षक, पत्रकार, वकिल, चिकित्सक, उद्योगी, व्यापारीलगायतसँग देशको वर्तमान परिस्थिति, विभिन्न समस्या तथा चुनौतीका बारेमा छलफल गरिने युवा नेतृ सरस्वती केसी अधिकारीले जानकारी दिइन् ।