शुक्रबार, चैत १६, २०८०

तामाङ पत्रकार संघ बागमती प्रदेश समितिद्वारा राजदुत तामाङलाई सम्मान

मायालु लामा,काठमाडौं । तामाङ पत्रकार संघ बागमती प्रदेश समितिले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत भएका दान बहादुर तामाङलाई सम्मान गरेको छ ।

बुधबार काठमाडौंको स्वयम्भूस्थित तामाङ कुदापमा आयोजित एक कार्यक्रममा राजदुत तामाङलाई सफल कार्यकालको लागि शुभकामना दिदै बधाई तथा सम्मान गरेको हो । राजदुत तामाङले तामाङ समाजलाई हरेक कोणबाट अगाडि बढाउन आवश्यक रहेको बताउँदै आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनताको हरेक समस्यासंग नजिक रहेर काम गर्ने बताउँदै उनले आगामी दिनमा संचार क्षेत्र र तामाङ संचारकर्मीसँग सधै सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए । आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउन्दै उनले आफू राजनीति गर्ने चरित्रको नभएको समेत बताए ।

तामाङ पत्रकारहरुले गरेको सम्मानलाई समुदायको तर्फबाट गरिएको सम्मानको रुपमा लिएको उल्लेख गर्दै उनले आगामी दिनमा संचार क्षेत्र र तामाङ संचारकर्मीसँग सधै सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जन, चलचित्र निर्देशक विनय दोङ, याम्बु मिडियाका प्रमुख शुक्र पाख्रिन लगायतले नवनियुक्त राजदुत तामाङको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी, तामाङ समुदायबाट महत्वपुर्ण पदमा नियुक्ति पाउनु हामी सबैको गर्वको विषय रहेको बताउँदै संघका बागतमी प्रदेश अध्यक्ष अर्जुन पाख्रिनले आगामी दिनमा राजदुत तामाङले आफ्नो समुदायको भाषा, कला, सँस्कृति पहिचान र मौलिकता जोगाउनका लागि विशेष प्राथमिकता दिनेमा आफु विश्वस्त रहेको बताए । नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सफल तामाङले प्राप्त गरेका यस महत्त्वपूर्ण जिम्मेवारी र सफलताबाट सम्पूर्ण तामाङ समुदायलाई गौरवान्वित बनाएको उनी बताउँछन् ।

लामो समयदेखि समाजसेवामा सक्रिय रहेका राजदुत तामाङलाई एक सफल व्यवसायीको रुपमा समेत चिनिन्छ । नवनियुक्त राजदुत तामाङ चितवनका स्थायी बासिन्दा हुन ।