शुक्रबार, चैत १६, २०८०

मुसहर वस्ती बनाए धुर्मुस–सुन्तलीले, नयाँ वर्षमा हस्तान्तरण

महोत्तरी,२३ चैत ।  काभ्रेको पहरी गाउँ र सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पीडितका लागि नमुना वस्ती बनाएका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले महोत्तरीमा नमुना मुसहर वस्ती निर्माण सम्पन्न गरेका छन् ।

आवास विहीन तराईका विपन्न मुसहरहरुका लागि ५३ वटा सुन्दर र नमुना घर उनीहरुले बनाएका हुन् । वस्तीका बीचमा वरिपरीका सहर हेर्न सकिने भ्यू टावर पनि बनाइएको छ ।

नेपालमा जातजाति र समुदायबीच बेमेल र विद्वेषको अभियान समेत केही शक्तिहरुले चलाइरहेका बेला धुर्मुस सुन्तली फाउडेशनले भने तराईको विपन्न समुदायका लागि सुन्दर आवास निर्माण गरेर सद्भावको बेग्लै सन्देश प्रवाह गरेको छ ।

नमुना मुसहर वस्तीलाई पर्यटकीय गाउँ बनाउन धुर्मुस सुुन्तलीले वस्तीका बीचमा एउटा भ्यूटावरको पनि निर्माण गरेका छन् । जुन टावरबाट बर्दिवास, लालबन्दी, ढल्केवर र जनकपुर लगायतका सहर देख्न सकिन्छ । यसअघि परालको छाप्रोमा बसेर गुजारा चलाउँदै आएका मुसहर वस्तीलाई एकीकृत नमुना वस्ती बनाउने योजनासाथ धुर्मुस सुन्तलीले काम थालेका थिए ।

नयाँ वर्षको पहिलो विहानी वैशाख १ गते विहान ८ वजे उनीहरुले वस्ती हस्तान्तरणको कार्यक्रम राखेका छन् । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई प्रमुख अतिथिका रुपमा निम्त्याएर उनीहरुले कार्यक्रम तय गरेका हुन् ।

स्थानीय पत्रकार तथा सामाजिक अभियन्ता रामआशिष यादवबाट मुसहर वस्ती हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । ‘नयाँ वर्षको खुसीयाली सँगै सद्भाव बाँड्न एकीकृत मुसहर वस्ती परिषरमा विहान ८ वजे उपस्थित हुन म अनुरोध गर्छु’ कलाकार कट्टेलले आव्हान गरेका छन् ।